भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्दन गरेको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँ पालिका –२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर २०८१ श्रावण ३० गते बुधबार देखि यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो ।

“आयोजनाको निर्माणतर्फका सबै काम सकिएकाले बुधबारदेखि पेनस्टक पाइपमा पानी हाल्न थालिएको हो। त्यसपछि पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने काम सुरु हुन्छ”, पोखरेलले भन्नुभयो ।‘यान्त्रिक परीक्षणको काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकार लगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको पनि जानकारी दिनुभयो। उहाँका अनुसार यस आयोजनामा एक हजार पाँच सयजना प्रवर्द्धकको लगानी छ । पारदर्शीरूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा चार अर्ब ५ करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक र्इ. लेखनाथ पाण्डेले जानकारी दिनुभयो । सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।