भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले २०८० मंसिर ५ गते मंगलवार बिहान आईपीओ बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा आवेदन ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ  । योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

आईपीओको नतिजा केहि समय पछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट muktinathcapital.com, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले कार्तिक १६ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको थियो।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।